काठमाडौँ। चितवनको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नारायणगढस्थित होटल सिराइचुलीले विश्वस्तरीय आतिथ्य सेवाको विस्तार गर्ने लक्ष्यसहित बेस्ट वेष्टर्न होटल्स नेपालसँग व्यवस्थापन सम्झौता गरेको छ। यस सम्झौतासँगै होटल सिराइचुली अन्तर्राष्ट्रिय स्तरमा स्थापित ‘बेस्ट वेष्टर्न’ ब्रान्ड अन्तर्गत सञ्चालन हुने भएको छ।
सम्झौताअनुसार होटल सिराइचुलीमा विश्वव्यापी आतिथ्य मापदण्ड, उन्नत सञ्चालन प्रणाली र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। साझेदारीमार्फत होटलमा सुधारिएको सेवा सुविधा, स्तरीकृत गुणस्तर व्यवस्थापन तथा बेस्ट वेष्टर्नको विश्वव्यापी रिजर्भेसन नेटवर्कको लाभ पाहुनाहरूले लिन सक्नेछन्।
दुवै संस्थाका प्रतिनिधिहरूले सहकार्यप्रति उत्साह व्यक्त गर्दै यसले नारायणगढ र समग्र चितवन क्षेत्रको पर्यटन तथा आतिथ्य क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। होटल सिराइचुलीका प्रतिनिधिले यो साझेदारीलाई होटलको विकास यात्रामा नयाँ अध्यायका रूपमा लिइएको उल्लेख गर्दै बेस्ट वेष्टर्नसँगको आबद्धताले नेपाली मौलिक आतिथ्य संस्कृतिलाई जोगाउँदै अन्तर्राष्ट्रिय सेवा मापदण्डलाई आत्मसात गर्न सहयोग पुग्ने बताए।
बेस्ट वेष्टर्न होटल्स नेपालका सीओओ अञ्जन बगालले होटल सिराइचुलीलाई आफ्नो सञ्जालमा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै होटलको उत्कृष्ट स्थान, गुणस्तरीय सेवा र व्यवस्थापन प्रतिबद्धताले नेपालमा बेस्ट वेष्टर्न परिवार थप बलियो हुने बताए। चितवन राष्ट्रिय निकुञ्जलगायत पर्यटकीय गन्तव्यका लागि प्रवेशद्वारका रूपमा रहेको नारायणगढ क्षेत्र व्यापारिक र पर्यटकीय यात्रुहरूका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ।
आधुनिक सुविधा, आरामदायी बसाइ र उत्कृष्ट सेवाका लागि परिचित होटल सिराइचुली व्यवसायिक तथा पर्यटकीय दुवै पाहुनाहरूलाई सेवा दिने प्रमुख गन्तव्यका रूपमा रहेको छ। बेस्ट वेष्टर्न होटल्स एण्ड रिसोर्ट्स विश्वका ठूला होटल ब्रान्डमध्ये एक हो, जसको १०० भन्दा बढी देश तथा क्षेत्रमा होटल सञ्जाल विस्तार भएको छ।