काठमाडौँ। देशभर नेपाली कांग्रेसका लागि उत्साहजनक नतिजा नआइरहेका बेला पाँचथरमा भने आइतबार बिहानैदेखि कांग्रेस नेता–कार्यकर्तामा खुशीको माहोल देखिएको थियो। आफ्ना उम्मेदवार नरेन्द्रकुमार केरुङको विजयसँगै सदरमुकाम फिदिममा कांग्रेस समर्थकहरूले विजय उत्सव मनाएका थिए। २०७४ र २०७९ का निर्वाचनमा पराजय भोगेको कांग्रेसका लागि केरुङको जित महत्वपूर्ण मानिएको छ। लामो समयदेखि राजनीतिमा सक्रिय रहेका केरुङले तेस्रो प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै संसदीय यात्रा सुरु गरेका हुन्। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेका गणेश काम्बाङसँग पराजित भएका थिए। त्यसपछि २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि उनी पुनः काम्बाङसँगै पराजित भएका थिए। तर यसपटक भने उनले २ हजार ४९९ मतको अग्रतासहित विजय हासिल गर्दै आफ्नो राजनीतिक यात्रामा नयाँ मोड ल्याएका छन्।
निर्वाचित भएपछि केरुङले अब आफू सम्पूर्ण जिल्लाको प्रतिनिधिका रूपमा काम गर्ने बताएका छन्। उनले भने, चुनावको प्रतिस्पर्धा सकिएको छ। अब पाँचथरको समग्र विकासका लागि सबै पक्षलाई समेटेर काम गर्नेछु। अहिले चुनौतीपूर्ण समय भएकाले सहकार्य र समन्वय आवश्यक छ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय केरुङको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट सुरु भएको हो। २०४८ सालमा नेविसंघ पाँचथरको जिल्ला सचिवको जिम्मेवारी सम्हालेपछि उनले शिक्षक तथा प्राध्यापक संगठनमार्फत आफ्नो राजनीतिक सक्रियता विस्तार गरेका थिए। २०५१ सालमा नेपाल शिक्षक संघको जिल्ला सह–सचिव बनेका केरुङ २०५७ देखि २०६७ सालसम्म ट्रेड युनियन कांग्रेस पाँचथरको सभापतिका रूपमा लगातार १० वर्ष नेतृत्वमा रहे।
यस अवधिमा उनले शिक्षण पेशालाई पनि निरन्तरता दिएका थिए। फिदिमस्थित नमुना माध्यमिक विद्यालय र सिदिनको सिद्धदेवी माध्यमिक विद्यालयमा शिक्षकका रूपमा काम गरेका उनले २०५५ देखि २०६७ सालसम्म पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापकको भूमिकामा पनि सेवा दिएका थिए। २०६७ साल उनको राजनीतिक जीवनको महत्वपूर्ण मोड बन्यो। सोही वर्ष उनी प्रजातान्त्रिक प्राध्यापक संघको केन्द्रीय सदस्यमा निर्वाचित भए भने नेपाली कांग्रेस पाँचथरको जिल्ला सभापतिमा पनि चयन भएका थिए। कम उमेरमै जिल्ला सभापतिको जिम्मेवारी पाएका केरुङले लगातार दुई कार्यकाल अर्थात् २०७८ सालसम्म पार्टीको जिल्ला नेतृत्व सम्हाले। व्यवस्थापन संकायमा स्नातकोत्तरसम्म अध्ययन गरेका केरुङ बौद्धिक र अनुभवी नेताका रूपमा चिनिन्छन्।