काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको उल्लेख गरे ।
एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज मध्यान्हसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८६ पुगेको छ । यससँगै काठमाडौं विश्वको चौथो प्रदूषित शहरका रूपमा सूचीकृत भएको वातावरणविद् भूषण तुलाधारले जानकारी दिए ।
प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै उनले घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुवाँ परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने बताए ।
एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभागका महानिर्देशक सुवेदीले आग्रह गरे ।