कठमाडौँ । सरकारकी पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारी सेवामा महिलाका लागि अवसर अझै पनि सीमित रहेको बताएकी छन्। आइतबार आयोजित ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा बोल्दै उनले सरकारी सेवामा महिलाले विभिन्न चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरिन्। उनका अनुसार धेरैजसो सरकारी संरचनामा महिलालाई अवसर कम हुने गरेको अनुभव आफूले पनि गरेको बताइन्।
उनले सरकारी जागिरले आफूलाई आत्मविश्वासका साथ बोल्न र अन्यायविरुद्ध आवाज उठाउन सिकाएको पनि बताइन्। गड्तौलाले भनिन्, “सरकारी जागिरले महिला भएर अरूको कुरामा दबिएर बस्ने मात्र होइन, ठूलो स्वरमा बोल्न र आवश्यक परे विद्रोह गर्न पनि सिकायो।” उनले केही सरकारी पदहरूमा महिलालाई अवसर दिनुपर्ने विषय उठ्दा उच्च पदमा रहेका केही कर्मचारीहरूले नै विरोध गर्ने गरेको समेत उल्लेख गरिन्। उनले राज्यका विभिन्न तहमा महिलाको सहभागिता र नेतृत्व बढाउन अझै प्रयास आवश्यक रहेको धारणा व्यक्त गरिन्।