काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा कैलाली क्षेत्र न.२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट केपि खनाल निर्वाचित भएका छन् । मतगणनाको सुरुवाति क्रममा अग्रता बनाएका खनालले १९ हजार ५७ मत प्राप्त गरेर भारी मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई ७,४९८ मतले पछि पार्दै खनाल विजयी भएका हुन् ।
नेपालको राजनीतिक इतिहासमा युवा पुस्ताको उदयको जीवन्त उदाहरण बनेका केपी खनाल । १३ वर्षको कलिलो उमेरमा रेडियोबाट बालबालिकाको आवाज उठाउने, १७ वर्षमा काठमाडौंका सडक सफा गर्ने अभियान चलाउने र २६ वर्षको उमेरमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुने उनको यात्रा एउटा प्रेरणादायी कथा हो। कैलाली क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभा निर्वाचन २०८२ मा भारी मतान्तरले विजयी भएका खनाल नेपालका सबैभन्दा कान्छा सांसद बनेका छन्। यो सफलता केवल राजनीतिक जित मात्र होइन, सरसफाइको झाडूबाट संसदको कुर्सीसम्म पुग्ने इमानदारी, दृढता र जनसेवाको प्रमाण पनि हो।
बाल्यकालः गरिबी, संघर्ष र सपनाको सुरुवात
केपी खनाल (पूरा नामः क्षेत्र प्रसाद खनाल) को जन्म वि.सं. २०५६ पुस २७ (जनवरी ११, २०००) मा अछाम जिल्लाको रामारोशन गाउँपालिकामा भएको थियो। साधारण तथा आर्थिक रूपमा कमजोर परिवारमा जन्मिएका उनको बाल्यकाल अभाव र चुनौतीले भरिएको थियो। अभिभावकहरू अछामबाट कैलालीको लम्कीचुहा नगरपालिका बसाइँ सरेपछि पनि परिवारको आर्थिक स्थिति सुधारिएन।
एसएलसी दिएपछि पैसा कमाउन धनगढी नाका हुँदै भारत पुगेका खनाल होटलमा टेबल सफा गर्ने काम गर्थे। १० रुपैयाँ टिप्स पाउँदा पनि खुसी हुने उनी आज संसदमा पुगेका छन्। तर उनले आफ्नो देश छोडेनन्। भारतबाट फर्किएपछि शिक्षा र सामाजिक कार्यलाई जीवनको मुख्य लक्ष्य बनाए। प्रारम्भिक शिक्षा अछाम र कैलालीमा पूरा गरेका उनले १२ कक्षासम्म लम्कीबाट पढे। गाउँलेहरूको सहयोगमा काठमाडौं आएर मानविकी संकायमा स्नातकोत्तर तहसम्म अध्ययन गरे। सानै उमेरदेखि समाजसेवालाई प्राथमिकता दिएका उनले शिक्षा र अभियानलाई सँगसँगै अघि बढाए।
सामाजिक अभियानको सुरुवातः कान्छा अभियन्ताको उदय
कक्षा ७ मा पढ्दै गर्दा कैलालीको टिकापुरमा रहेको रेडियो नमस्तेमा “बाल बहस“ कार्यक्रम सञ्चालन गरेर बालबालिकाको आवाजलाई मञ्च दिए। यो उनको पहिलो सार्वजनिक कदम थियो जसले स्थानीय स्तरमा चिनायो।
१७ वर्षको उमेरमा उनले “क्लिन काष्ठमण्डप“ अभियान सुरु गरे। काठमाडौंको ऐतिहासिक काष्ठमण्डप क्षेत्र सफा गर्दै सरसफाइको सन्देश फैलाए। यो अभियानले उनलाई “कान्छा सामाजिक अभियन्ता“ को उपाधि दिलायो। पछि “हाइवे क्लिननेस क्याम्पेन“ चलाए, जसले राजमार्गहरू सफा गर्ने अभियानलाई राष्ट्रिय स्तरमा पु¥यायो।
२०७७ मा उनले मैना देवी फाउन्डेसन स्थापना गरे। यो फाउन्डेसनमार्फत वातावरण संरक्षण, युवा सशक्तीकरण, लैंगिक समानता, भ्रष्टाचारविरुद्ध अभियान, राहत वितरण र सामुदायिक जागरणका कार्यहरू भए। उनले “म बदलिन्छु, मेरो देश बदलिन्छ“ नारा दिएर युवाहरूलाई प्रेरित गरे।
उनी जेनरेशन जेड आन्दोलनका प्रमुख खेलाडी बने। काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) सँग निकट सम्बन्ध भएकाले “बालेन निकट“ भनेर चिनिन्छन्। दशैं–तिहारमा बाढी पीडितलाई सहयोग गर्ने “दशा लागेकालाई यो दसैं“ अभियान चलाए, जसमा ४ दिनमै २ लाख संकलन गरेर कैलालीका गरिब परिवारलाई खाद्यान्न वितरण गरे। हुम्लाका भेडा चराउनेहरूको लागि “भोकै छ हुम्ला“ अभियान चलाए — फेसबुकबाट अपिल गरेर साता दिनमै २५ परिवारका लागि दाल–चामल, तेल–साबुन जुटाए। धनगढीबाट बाजुरा हुँदै खच्चडमा सामग्री बोकेर हुम्लाको श्रीनगर पुगे, जहाँ स्थानीयले आँसु झार्दै स्वागत गरे।
बाजुरामा अनाथ बालबालिकाका लागि आश्रयस्थल निर्माण अभियानमा पनि अग्रसर भए। सामाजिक सञ्जालमा अत्यन्त सक्रिय उनी अभियानहरू फैलाउँदै आएका छन्।
राजनीतिक प्रवेशः रास्वपासँगको जोड र चुनावी अभियान
लामो समय स्वतन्त्र अभियन्ता रहेका खनाल केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे। पार्टीले उनलाई केन्द्रीय सदस्य बनायो र कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो। यो क्षेत्रमा कुल मतदाता करिब १ लाख ७ हजार थिए। उनले भने, “खाडीमा सुदूरका जनता पठाउने, कालो पहाडमा पठाउने अब सडकमा फोहोर टिप्ने सफाईकर्मीलाई देशको नीति बदल्न पठाउँदैछौं।“ ठूला वाचा नगरी “रास्वपालाई मौका दिनुपर्छ“ सन्देश दिए। पार्टी सभापति रवि लामिछानेको लम्की चौराहमा सम्बोधनले अभियानलाई ऊर्जा दियो।