काठमाडौँ । सुदूरपश्चिम प्रदेश अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। मतपरिणाम सार्वजनिक भइरहँदा प्रतिस्पर्धा रोचक बन्दै गएको छ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी ४,२८३ मतसहित अग्रस्थानमा रहेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले ३,१४० मतसहित पछ्याइरहेका छन्। हाल बोगटी र शाहबीच २,१३८ मतको अन्तर रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुपदेव शाह २१३८ मतसहित तेस्रो स्थानमा देखिएका छन्।
भुपदेव शाह काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका स्वकीय सचिवका रूपमा परिचित छन्। बालेनसँगको नजिकको कार्यसम्पर्क र नयाँ राजनीतिक धारप्रतिको आकर्षणका कारण अछाम–२ मा उनको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बलबहादुर कुँवरले ९२५ मत प्राप्त गरेका छन्।
हाल प्रारम्भिक चरणको मतगणना मात्र सम्पन्न भएको र अझै धेरै मत गन्न बाँकी रहेकाले अन्तिम परिणामबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने निर्वाचन अधिकारीहरूले बताएका छन्। आगामी मतपरिणामले प्रतिस्पर्धाको चित्र अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।