काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ। २०७९ को प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५६ सिट जितेको नेपाली कांग्रेसको २०८२ को मतगणना भइरहेको छ। हालसम्म ४१ निर्वाचन क्षेत्रको मतगणना सकिँदा नेपाली कांग्रेसले जम्मा ५ सिटमा मात्र जित हात पारेको छ भने ८ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।
यता रास्वपाले ३१ सिट जितेको छ भने ८८ निर्वाचन क्षेत्रमा अग्रता लिँदै मतपरिणाम आफ्नो पक्षमा पार्ने देखिन्छ। नेपाली कांग्रेसले हालसम्म ५ निर्वाचन क्षेत्रमा जित हात पारेको छ, जसमा दैलेख क्षेत्र नम्बर १ बाट बासना थापा, तेह्रथुमबाट सन्तोष सुब्बा, रसुवामा मोहन आचार्य, मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।
दैलेख क्षेत्र नम्बर १ः बासना थापा विजयी
दैलेख क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन्। शुक्रबार मध्यराति सकिएको मतगणनाअनुसार १२ हजार ३७२ मतसहित बासना विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे। रास्वपाका किशोरकुमार बस्नेतले ८ हजार १५१ र नेपाल कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले ३ हजार ९८९ मत पाए।
तेह्रथुमः सन्तोष सुब्बा विजयी
तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११ हजार ५६१ मत पाउँदा एमालेका ढकालले १० हजार ६८२ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० मत पाए। नेकपाका रणध्वज लिम्बुको पक्षमा ९१९ मत पर्यो।
रसुवाः मोहन आचार्य विजयी
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन्। १० हजार ६५६ मत प्राप्त गरी आचार्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरे। रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १३६ मत खसेको थियो।
मुस्ताङः योगेश गौचन थकाली विजयी
मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार इन्द्रधारा डाडु विष्टले १ हजार ८०६ मत र रास्वपाका आदित्यचन्द्र थकालीले ७५९ मत प्राप्त गरे।
मनाङः टेकबहादुर गुरुङ निर्वाचित
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित निर्वाचित भएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन्। नेसनल मंगोल अर्गनाइजेसनका रामबहादुर घलेले ९ मत प्राप्त गरे।