काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले शुक्रबार सुनुवाइ गर्दै प्रसाईंलाई हिरासतबाट तत्काल रिहा गर्न आदेश जारी गरेको हो।
प्रसाईं हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका थिए। आफूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए। सोही रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। प्रहरीले केही समयअघि प्रसाईंलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो। तर पक्राउ प्रक्रिया र हिरासतमा राखिएको विषयमा प्रश्न उठाउँदै प्रसाईं अदालत पुगेका थिए। अदालतको आदेशपछि अब उनलाई हिरासतबाट मुक्त गर्नुपर्ने भएको छ। प्रसाईंको रिहाइसँगै उनीमाथि लगाइएको आरोप तथा अनुसन्धान प्रक्रिया आगामी दिनमा कसरी अघि बढ्छ भन्ने विषयमा पनि चासो बढेको छ।