काठमाडौँ । उत्तरी गोरखाबाट मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण पोखरामा आकस्मिक अवतरण गरेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार खराब मौसमका कारण हेलिकप्टर गोरखा सदरमुकाममा अवतरण गर्न नसकेपछि पोखरामा अवतरण गराइएको हो।
प्रहरीका अनुसार उक्त हेलिकप्टरमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित गौरिशंकर आधारभूत विद्यालय, खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार मौसममा सुधार आएपछि मतपेटिका गोरखा सदरमुकाम पुर्याइने तयारी गरिएको छ।
दुर्गम तथा हिमाली क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा संकलन गर्न निर्वाचन आयोगले हेलिकप्टरमार्फत ढुवानीको व्यवस्था गरेको छ।