काठमाडौँ। बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक वीरेन्द्रबहादुर बस्नेतले आफू अब कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको घोषणा गरेका छन्। शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा उनले दलगत राजनीतिबाट अलग हुँदै अब व्यवसाय, समाजसेवा र राष्ट्र निर्माणका कार्यमा केन्द्रित हुने बताएका हुन्।
बस्नेतले वि।सं। २०८२ भदौ २३ र २४ गते देशभर भएको जनविद्रोह र ७६ जना युवाको सहादतले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको उल्लेख गरेका छन्। उनका अनुसार ती घटनाहरू भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्ध उठेको सशक्त आवाज थियो।
सुशासन, रोजगारी र समतामूलक विकासको लक्ष्यसहित आफू गतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएको तर अहिलेको राजनीतिक संस्कार आफ्ना मूल्य र सोचसँग मेल नखाएको भन्दै उनले दलबाट अलग हुने निर्णय लिएको बताए।
अब स्वतन्त्र नागरिकका रूपमा देश र समाजको सेवामा लाग्ने उनले बताएका छन्। साथै स्थानीय सरकारको व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि र गुणस्तरीय शिक्षाका क्षेत्रमा काम गर्ने योजना उनले सार्वजनिक गरेका छन्।