दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान स्थलबाट मतपत्र हराएपछि मतदान प्रभावित भएको छ। बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि मतदान स्थलमा विवाद उत्पन्न भएको थियो।
मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।
विवादपछि सर्वदलीय बैठक बसेर मतदान सुरु गर्ने सहमति भए पनि मतदान स्थलबाट ५६ बुक मतपत्र हराएको पुष्टि भएपछि मतदान अझै सुरु हुन सकेको छैन।
दोलखामा निर्वाचन गराउन खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार हराएको मतपत्रको खोजी भइरहेको छ। निर्वाचन कर्मचारी र सुरक्षाकर्मीले हराएको मतपत्रलाई मुचुल्का गरेर गणनामा नसमेट्ने प्रस्ताव गरेका थिए।
तर नेपाली कांग्रेस र एमालेका प्रतिनिधिले सहमति नजनाएपछि विवाद अझै समाधान हुन सकेको छैन।