काठमाडौँ । दोलखा जिल्ला को कालिञ्चोक गाउँपालिका–८ स्थित कालीनाग मतदान केन्द्रमा मतदानका क्रममा केहीबेर विवाद उत्पन्न भएको छ। मतदाता नामावलीमा नाम रहेका एक मतदाताले भोटर परिचयपत्र नभएको अवस्थामा सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि त्यहाँ उपस्थित कर्मचारी र मतदाताबीच बहस भएको थियो। सो विषयलाई लिएर मतदान केन्द्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार मतदाता नामावलीमा नाम भएका नागरिकले वैकल्पिक परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था रहेको छ। तर सहकारीको परिचयपत्रलाई वैकल्पिक परिचयपत्रका रूपमा प्रयोग गर्न मिल्ने वा नमिल्ने विषय स्पष्ट रूपमा उल्लेख नभएकाले विवाद उत्पन्न भएको हो। उक्त विषयमा अहिले सम्बन्धित पक्षबीच छलफल भइरहेको उनले जानकारी दिए। नामावलीमा नाम पुष्टि भएका कारण मतदान गर्न दिने गरी सहमति जुट्ने क्रममा रहेको पनि प्रशासनले जनाएको छ। विवादपछि केहीबेर रोकिएको मतदान प्रक्रिया भने पुनः सामान्य रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ। मतदान केन्द्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएपछि अवस्था अहिले सामान्य बन्दै गएको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढाउने प्रयास भइरहेको जनाइएको छ।