काठमाडौं । आज देशभर प्रतिनिधि सभाकोे मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार मध्यान्ह १२ः०० बजेसम्म देशभर १६.८८ प्रतिशत मतदान सम्पन्न भएको छ।
आयोगको पछिल्लो तथ्यांक अनुसार देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये हालसम्म ३१ लाख ९० हजार ८८ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। ७७ वटै जिल्लाका १६५ निर्वाचन क्षेत्रमा रहेका १० हजार ९ सय ६७ मतदानस्थलहरूमा मतदान कार्य जारी रहेको आयोगले जनाएको छ।
प्राप्त तथ्यांक अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी २५.५५ प्रतिशत मतदान भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम १०.४६ प्रतिशत मतदान भएको छ।
प्रदेशगत मतदानको अवस्था निम्न अनुसार छः
काठमाडौं उपत्यकाः उपत्यकाका तीन जिल्लामा ५ लाख ७ हजार बढी मत खसिसकेको छ, जुन कुल मतदाताको २५.५५% हो।
गण्डकी प्रदेशः यहाँ १८ निर्वाचन क्षेत्रमा २२.५०% मतदान भएको छ।
कर्णाली प्रदेशः विकट भूगोलका बावजुद कर्णालीमा २०.२३% मत खसेको छ।
सुदूरपश्चिम प्रदेशः यहाँ हालसम्म २०.०७% मतदाताले मतदान गरेका छन्।
बागमती प्रदेश (उपत्यका बाहेक)ः उपत्यका बाहेकका १० जिल्लामा १७.२१% मतदान भएको छ।
लुम्बिनी प्रदेशः यस प्रदेशमा १२ बजेसम्म १६.०६% मतदान सम्पन्न भएको छ।
कोशी प्रदेशः १४ जिल्ला समेटिएको कोशीमा १५.६०% मत खसेको छ।
मधेश प्रदेशः ८ जिल्ला र ३२ निर्वाचन क्षेत्र रहेको मधेशमा हालसम्म १०.४६% मतदान भएको छ।
निर्वाचन आयोगले बिहानैदेखि मतदान प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रहेको जानकारी दिएको छ। केही स्थानमा सामान्य प्राविधिक समस्या देखिए पनि मतदान अवरुद्ध भएको छैन। आयोगले साँझ ५ः०० बजेसम्म मतदानको समय तोकेकाले दिउँसो मतदानको प्रतिशत उल्लेख्य रूपमा बढ्ने विश्वास आयोगले लिइएको छ।
