काठमाडौँ । निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित बनाउन सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। निर्वाचन सुरक्षाका लागि नेपालले ७९ हजार ७२७ जना नेपाली सेना र करिब २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
निर्वाचनका क्रममा शान्ति सुरक्षालाई प्राथमिकता दिँदै सुरक्षा निकायलाई देशभर रणनीतिक रूपमा परिचालन गरिएको हो। मतदान केन्द्रदेखि मतगणना स्थलसम्म सुरक्षा कडा पारिएको बताइएको छ।
यसैबीच, निर्वाचनका लागि कुल १९ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
निर्वाचनको निष्पक्षता कायम राख्न मतदान सुरु भएपछि सबै प्रकारका चुनावी प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको छ। भाषण, सभा, सामाजिक सञ्जालमार्फत प्रचार तथा आर्थिक प्रभाव पार्ने गतिविधि गर्न पाइँदैन।
निर्वाचन आचारसंहिता उल्लंघन गरेमा उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने र आगामी ६ वर्षसम्म चुनावमा भाग लिन नपाउने कडा कानुनी व्यवस्था गरिएको छ।