काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहानदेखि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ। यसै क्रममा धनुषा जिल्लामा पनि बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भई शान्तिपूर्ण रूपमा जारी रहेको छ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेका अनुसार बिहान ११ः३० बजेसम्म जिल्लाभर करिब ३० प्रतिशत मतदान सम्पन्न भइसकेको छ। यही गति कायम रहेमा बेलुका ५ बजेसम्म करिब ७० प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको उनले बताए। उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ। तीनै तहका सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गरिएकाले कुनै पनि प्रकारको अवाञ्छित गतिविधि वा विवाद नहुनेमा प्रशासन विश्वस्त रहेको उनले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार बेलुका ५ बजेसम्म मतदान सम्पन्न भएपछि सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालय रहेको महेन्द्र नारायण निधि सांस्कृतिक सभाहलमा ल्याइनेछ। त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना प्रक्रिया सुरु गर्नेबारे निर्णय गरिने जनाइएको छ।