काठमाडौँ । रामेछाप जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। जिल्लाका ९६ मतदानस्थलअन्तर्गत रहेका २३० मतदान केन्द्रमा बिहानदेखि नै शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिएका छन्।
जिल्लाभरिका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहान ११ बजेसम्म करिब १३ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार रामेछापमा कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। यद्यपि अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति अपेक्षाकृत कम देखिएको छ। धेरै केन्द्रहरूमा मतदान गर्न फाट्टफुट्ट रूपमा मात्र मतदाता पुगेका छन्।