काठमाडौँ । आज फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु भएको छ ।
मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्रको सक्कलप्रति नभएका मतदातालाई मतदानबाट वञ्चित नहुने व्यवस्था गरेको छ ।
त्यस्ता मतदाताले परिचयपत्रको विकल्पमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कलप्रति देखाएर पनि मतदान गर्न सक्नेछन् । साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिइने आयोगले जनाएको छ।