काठमाडौं । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।
मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन अधिकृतको कार्यालयले प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले प्रशिक्षण दिएर खटाइएको आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सत्ततर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए । उनका अनुसार ५०० भन्दाबढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ कर्मचारी खटाउने व्यवस्था मिलाइएको छ ।