काठमाडौं । निर्वाचन आयोगले पक्राउ परेका उम्मेदवारको हकमा निर्वाचन आचारसंहिताबाहेक निर्वाचन कसुर ऐनको समेत व्यवस्था अनुसार अघि बढ्ने बताएको छ ।
बुधबार पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन् ।
‘निर्वाचन आयोगले निर्वाचन कसुर तथा सजाय ऐनलाई सम्बोधन गर्छ’, भण्डारीले भने, ‘त्यस सम्बन्धमा कतिपय विषयमा आयोगले निर्णय गर्न सक्छ । कतिपयमा मुख्य निर्वाचन अधिकृत र मतदान ले निर्णय गर्न सक्छ भने कतिपय प्रहरीले समेत निर्णय गर्न सक्छ ।’
क्षेत्राधिकारबारे हिजोबाट प्रवेश गरेका विषयमा किनारामा पुग्ने आयोगले जनाएको छ । आयोगले नगद कारोबारका सवालमा आयोग शून्य सहनशीलताको नीति कार्यान्वयन गर्ने पनि जनाएको छ ।
प्रहरीले मतदानको अघिल्लो दिन पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी, सिरहा–३ का जसपा, नेपालका उम्मेदवार अशेश्वर यादव र धनुषा ४ का स्वतन्त्र उमेदवार राजकिशोर महरालाई पक्राउ गरेको थियोे ।
मौनअवधिमा रकमसहित हिँड्दै र बाँड्दै गरेको अवस्थामा उनिहरू पक्राउ परेका थिए ।
यता मंगलबार पक्राउ परेका स्वतन्त्र उम्मेदवार महरा भने हाजिर जमानीमा रिहा भईसकेको धनुषाका एसपी रुगम कुँवरले जानकारी दिएका छन् ।