काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
उम्मेदवार र मतदातालाई सहज बनाउनका लागि आयोगले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
भोलि फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।
निर्वाचनमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ ।
मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्नेछ ।
यदि कुनै कारणवश मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको खण्डमा मतदाताले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर पनि मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।