काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा मतदातालाई मतदान स्थलमा जानबाट रोक्न नपाइने निर्वाचन आयोगले जनाएको छ। कसैले पनि मतदान स्थल जाने बाटो छेक्न, मतदान केन्द्रमा प्रवेश रोक्न वा मतदान प्रक्रियामा कुनै प्रकारको अवरोध गर्न हुँदैन।
निर्वाचन आचारसंहिताअनुसार यस्तो कार्य गरेमा २५ हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ। साथै, एक व्यक्तिले एकभन्दा बढी पटक मतदान गरे पनि २५ हजार रुपैयाँसम्म जरिबाना हुने आयोगले स्पष्ट पारेको छ। निर्वाचन आयोग, नेपाल ले निर्वाचन व्यवस्थापन तथा कर्मचारी परिचालनसम्बन्धी सबै तयारी पूरा भइसकेको जनाएको छ। आयोगका अनुसार मतदान अधिकृतहरू सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् भने मतदानका लागि आवश्यक सामग्री पनि तयारी अवस्थामा राखिएको छ। २१ फागुनमा हुने निर्वाचनका लागि ४ फागुनदेखि १८ फागुनसम्म प्रचारप्रसारको समय निर्धारण गरिएको थियो। अहिले मौन अवधि लागू भएको छ र मतदान प्रक्रिया सम्पन्न नभएसम्म यो अवधि कायम रहने आयोगले जनाएको छ।