काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो।
मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा रोक,भोज, भतेर, हुलहुज्जत गर्न नहुने,सामाजिक सञ्जालमा कडाइ,कुनै पनि तरिकाबाट मत माग्न नपाइने,मतदानमा बाधा पुर्याउन नहुने,विज्ञापन हटाउनुपर्ने,मतदान केन्द्रमा शान्ति कायम राख्ने र प्रचार सामग्री हटाउनुपर्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार आयोगले २४ सै घण्टा आचारसंहिता उल्लंघनको सूक्ष्म अनुगमन गरिरहेको छ । आयोगले मौन अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन वा गोष्ठी नगर्न र आचारसंहिताको पूर्ण पालना गर्न सबै सरोकारवालालाई सचेत गराएको छ । फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि आयोगले सम्पूर्ण प्राविधिक र सुरक्षा तयारी पूरा गरिसकेको छ ।