पोखरा । पर्यटकीय राजधानी पोखराको चुनावी मैदान यतिबेला रोचक मोडमा पुगेको छ। विशेष गरी कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका सफल पर्यटन उद्यमी एवं दुरदर्शी व्यक्तित्व अर्जुन खनालको पक्षमा लेकसाइडका व्यवसायीहरूले देखाएको अभूतपूर्व समर्थनले राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ।
लेकसाइडको बाराही चोकबाट सुरु भएको एक भव्य 'रोड-शो' मा सयौँको संख्यामा पर्यटन व्यवसायीहरू स्वस्फूर्त रूपमा सडकमा उत्रिएका थिए। होटल, रेष्टुरेन्ट, ट्रेकिङ, र साहसिक पर्यटन क्षेत्रका दिग्गज हस्तीहरूको उपस्थितिले सो क्षेत्र राप्रपाकोमय बनेको थियो। फेवा किनारका मुख्य गल्लीहरू परिक्रमा गर्दा व्यवसायीहरूले 'हाम्रो नेता-राम्रो नेता' र 'पर्यटनको सान-अर्जुन खनाल हाम्रो मान' भन्दै चर्को हुटिङ गरेका थिए।
आफ्ना नियमित कामकाज थाँती राखेर व्यवसायीहरू सडकमा आउनुलाई राजनीतिक विश्लेषकहरूले खनालको व्यक्तिगत प्रभाव र व्यावसायिक पकडको रूपमा व्याख्या गरेका छन्। वर्षौंदेखि परम्परागत राजनीतिको मारमा परेको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन खनाल जस्तो 'भिजनरी' नेताको खाँचो रहेको व्यवसायीहरूको ठम्याइ छ। रोड-शोमा सहभागी एक वरिष्ठ होटल व्यवसायीले भावुक हुँदै भने, 'हामीले कुरा गर्ने नेता त धेरै देख्यौँ, तर पर्यटनको मर्म बुझ्ने र हाम्रो पीडा महसुस गर्ने नेता पहिलो पटक पाएका छौँ। अर्जुन खनालको विजय नै पोखराको व्यावसायिक भविष्यको ग्यारेन्टी हो।'
उम्मेदवार खनाल केवल एक राजनीतिज्ञ मात्र नभई पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने एक कर्मठ शिल्पी पनि हुन्। उनले आफ्ना चुनावी प्रतिबद्धतामा मुख्य गरी तीन बुँदालाई प्राथमिकता दिएका छन्, अर्जुन खनालले अघि सारेका चुनावी एजेन्डाहरूले पोखराको समग्र आर्थिक र पर्यटकीय कायापलट गर्ने स्पष्ट खाका कोरेका छन्। उनले 'पोखरा २४ सै घण्टा खुला' राख्ने अवधारणा अघि सार्दै रात्रीकालीन पर्यटनलाई व्यवस्थित, मर्यादित र पूर्ण रूपमा सुरक्षित बनाउने प्रतिबद्धता जनाएका छन्, जसले पोखराको आर्थिक गतिविधिलाई दोब्बर बनाउने विश्वास गरिएको छ।
त्यसैगरी, नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा वैदेशिक उडानको सुनिश्चितताका लागि प्रभावकारी कुटनीतिक र प्राविधिक पहल गर्ने उनको दोस्रो मुख्य लक्ष्य रहेको छ, जसले गर्दा पर्यटकहरू सिधै पोखरा ओर्लन सकुन्। साथै, व्यवसायीहरूले झेल्दै आएको झन्झटिलो कर प्रणालीलाई सुधार गरी 'व्यवसायी मैत्री कर नीति' लागू गर्ने र लगानीकर्ताहरूका लागि झन्झटमुक्त एवं सुरक्षित वातावरण सिर्जना गर्ने उनको ठोस योजना रहेको छ। रोड-शोको समापनमा सम्बोधन गर्दै खनालले भने,'म केवल भोट माग्न आएको होइन, म तपाईंहरूको व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र लेकसाइडको गरिमालाई उच्च राख्न चुनावी मैदानमा होमिएको हुँ।'
मिलनसार स्वभाव, व्यावसायिक इमानदारिता र पोखराको विकासप्रतिको हुटहुटीले गर्दा युवा पुस्तामा समेत उनी 'विकासको इन्जिन' का रूपमा स्थापित भएका छन्। गएराति भएको व्यवसायीहरूको अनौपचारिक छलफलले पनि खनाललाई 'पर्यटन क्षेत्रको निर्विकल्प सारथि; घोषणा गर्दै भारी मतले विजयी गराउने संकल्प गरेको छ।