काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्ने क्रम बढेको छ।यातायात व्यवसायी तथा ट्राफिक प्रहरी दुवैका अनुसार, चुनावका लागि ठूलो सङ्ख्यामा मतदाताहरू बाहिरिइसकेका छन् भने बाहिरिनेक्रम जारी छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार निर्वाचनको समयमा उपत्यकाबाट मानिसहरू बाहिरिने क्रम विगतको निर्वाचनभन्दा उल्लेखनीय रूपमा बढेको छ । होली पर्वसँगै चार–पाँच दिनको सार्वजनिक बिदा पनि परेकाले यो सङ्ख्यामा थप वृद्धिको अपेक्षा गरिएको उनले बताए । बुधबार बिहान १२ बजेसम्म ९ लाख मानिस बाहिरिने महासंघको अनुमान छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उपत्यकाबाट अहिलेसम्म निर्वाचनको लागि करिब सात लाख मानिस बाहिरिएको जानकारी दिए । मतदाताको आवतजावतको लागि सबै प्रकारको सुरक्षा व्यवस्था मिलाइएको पनि उनले बताए ।
आगामी दुई दिनमा ८–९ लाख मानिस मतदाता बाहिरिने यो क्रम निर्वाचनको तयारीको सङ्केत पनि मानिन्छ । धेरै मानिसले घर–गाउँ फर्केर आफ्नो मतदान अधिकार प्रयोग गर्ने भएकाले प्रशासन र यातायात व्यवसायीहरू दुवै सतर्क रहेका छन् ।