काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ ।
दूतावासले ‘एड्भाइजरी-२’ जारी गर्दै अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको हो । पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य प्राविधिक माध्यममार्फत अपुष्ट सामग्री सेयर गर्दा सुरक्षा अवस्थाबारे अन्योल र भ्रम सिर्जना हुन सक्ने भएकाले यस्तो कार्य नगर्न सबैलाई सचेत गराइएको छ । साथै, परिस्थितिसम्बन्धी फोटो तथा भिडियो खिचेर पोस्ट गर्दासमेत जिम्मेवार बन्न दूतावासले अपिल गरेको छ।
