काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् ।
यसका साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गरिन् ।
चिनियाँ राजदूत माओमिङले व्यस्तताका बीच शिष्टाचार भेटका लागि समय उपलब्ध गराइदिएकामा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिए । यस्तै राजदूत माओमिङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाई दिए ।
नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उनले बताएका छन् ।प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता जनाइन् ।
यसका साथै विकासका विभिन्न परियोजना र आयामहरूमा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरिन् ।