काठमाडौं । नेपाल सरकारले फागुन १२ गतेको निर्णयअनुसार प्रशासन सेवाका २३ जना उच्चपदस्थ कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका र विभिन्न निकायमा कार्यरत राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)हरूलाई जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यक्षेत्र तोकिएको हो ।
निर्णयअनुसार संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका अधिकांश सहसचिवहरूलाई विभिन्न प्रदेशका प्रदेश प्रमुखको कार्यालय, मन्त्रालयहरू र ठूला स्थानीय तहमा कामकाज गर्ने गरी खटाइएको छ ।
एक नारायण शर्मालाई राष्ट्रपति कार्यालय, झनक कुमार खत्रीलाई राष्ट्रिय दलित आयोग र हिरा लाल चौधरीलाई कर्णाली प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रेम बहादुर दौल्याल, मधेश प्रदेशमा नारायण प्रसाद दाहाल, लुम्बिनी प्रदेशमा मुगा राज पाण्डे र गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा विजय रानालाई सचिवको जिम्मेवारी दिएर पठाइएको छ । गृह मन्त्रालय र लोक सेवा आयोग जस्ता महत्वपूर्ण निकायहरूमा पनि नयाँ सहसचिवहरूको पदस्थापन भएको छ ।
विशेषगरी ठूला स्थानीय तहहरूको प्रशासनिक नेतृत्वमा पनि फेरबदल गरिएको छ । इटहरी उपमहानगरपालिकामा महेश पराजुली, धनगढी उपमहानगरपालिकामा जनकराज भट्ट, धरान उपमहानगरपालिकामा तीर्थराज राई र नेपालगन्ज उपमहानगरपालिकामा मानबहादुर बमलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ। त्यस्तै, वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई जिम्मेवारी तोकिएको छ ।
मन्त्रालयले शिक्षा र सूचना प्रविधि सेवाका कर्मचारीहरूको पनि कार्यक्षेत्र परिवर्तन गरेको छ। मनिष भट्टराईलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ भने शिक्षा सेवातर्फका कृष्ण जीसी र दिनेश घिमिरे लगायतलाई पनि नयाँ जिम्मेवारी दिइएको छ । निर्वाचन आचार संहिता लागू भएपछि सरुवा, बढुवा गर्न नमिल्ने भएपनि निर्वाचन आयोगको अनुमति लिएर बाधा नपर्ने जनाएको छ ।

