काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन गराउन सरकारलाई कांग्रेसले सम्पूर्ण रूपमा साथ दिने बताएका छन् । बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरू चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता जनाएका हुन् ।
‘चुनावका बारेमा यताउता र केही संशयहरू सिर्जना गर्न खोजिएको छ । ती तमाम संशयहरूलाई चिर्दै समयमा निर्वाचन गराउने कुराका सन्दर्भमा यो सरकारलाई पनि सम्पूर्ण रुपमा साथ दिँदै संविधानलाई लयमा ल्याउने प्रतिबद्धताबाट नेपाली कांग्रेस एक इन्च पनि तलमाथि गर्दैन,’ उनले भने ।
फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको थापाले बताए । अगामी वर्षहरूमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहति कांग्रेस जनतासामु गएको उनले बताए । अब कुनै पनि प्रकारको आन्दोलन र विध्वंश हुन नदिने थापाको प्रतिज्ञा छ । चुनाव कुनै पनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको बताए । संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको उनले बताए ।
यस्तै थापाले २०४६ सालपछि भएका सबै प्रमुख काण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नक्कली शरणार्थी प्रकरणजस्ता घटनाले राज्यप्रणालीप्रति जनविश्वास कमजोर बनाएको उल्लेख गर्दै यस्ता प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाहीबाट उन्मुक्ति नपाउने स्पष्ट पारे। ‘२०४६ यताका हरेक काण्डको छानबिन हुन्छ, दोषी जो भए पनि कानुनको दायरामा आउनुपर्छ,’ उनले भने।
थापाले आगामी पाँच वर्षलाई परिवर्तनको अवधि घोषणा गर्दै सुधारको स्पष्ट कार्यदिशा अघि सार्ने बताए। यो पाँच वर्ष परिवर्तनको वर्ष हो, उनले भने, देशलाई नयाँ दिशामा लैजान साहसिक निर्णय आवश्यक छ। उनले व्यक्तिगत सम्बन्ध वा पारिवारिक निकटताका आधारमा कसैलाई छुट नदिने अडान पनि दोहोर्याए। ‘मेरो आफ्नै परिवारभित्रका व्यक्ति भए पनि गल्ती गरेको प्रमाणित भए कानुनको दायरामा ल्याइन्छ,’ उनले स्पष्ट पारे।
जनतासमक्ष अव्यावहारिक वाचा नगर्ने उल्लेख गर्दै उनले पाँच वर्षमै सबै समस्या समाधान गर्छु भन्ने दाबीलाई नपत्याउन आग्रह गर्दै दीर्घकालीन संरचनात्मक सुधारमार्फत शिक्षा, स्वास्थ्य र सुशासनमा ठोस परिणाम दिने लक्ष्य रहेको बताए। उनले कर्णालीका कार्यकर्तालाई गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्न आग्रह गरे। गलत निर्णयले विगतका दुःख दोहोरिन सक्ने चेतावनी दिँदै सचेत र विवेकपूर्ण मतदानका लागि अपिल समेत गरे ।