बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् ।
जिल्लाको डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुई पक्षबीच विवाद चर्किएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी छन् । दुवै एमालेनिकट युवा संघसँग आबद्ध रहेको बताइएको छ ।
झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ । माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ । अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।