काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको बताएको छ । निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।
कार्यकारी निर्देशक भट्टका अनुसार भारतीय आयल कर्पोरेसनबाट नेपालका लागि मंगलबार यो वर्षकै सबैभन्दा बढी ग्यास लोड भई नेपालतर्फ प्रस्थान भएको छ । हिजो मंगलबार मात्रै विभिन्न ग्यास डिपोहरूबाट कुल १३८ बुलेट ग्यास लोड भएको निगमले जनाएको छ । यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर हो ।
निगमका अनुसार बरौनी डिपोबाट ३६ बुलेट, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट गरी कुल १३८ बुलेट ग्यास नेपालका लागि लोड भएको छ । कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिमा ग्यासको अभाव हुन नदिन निगम सचेत रहेको र आपूर्ति व्यवस्थालाई नियमित बनाइएको बताए ।