काठमाडौँ । परिबोधको औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
संस्थापक तपन भट्टराईको नेतृत्वमा युवावर्गद्वारा सोमबार आयोजित एक कार्यक्रमका बिच नेपालको प्राचीन सभ्यता, दर्शन र समृद्ध शास्त्रीय ज्ञान-परम्परालाई आधुनिक समाजको जीवन्त चेतनासँग पुनःजोड्ने उद्देश्य सहित शुभारम्भ गरिएको हो ।
'परियोजना परिबोध' को शुभारम्भ त्रिभुवन विश्वविद्यालयका पूर्व अङ्ग्रेजी विभागाध्यक्ष प्रा. डा. कृष्णचन्द्र शर्मा, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका अध्यक्ष प्रा. डा. मुकुन्दप्रसाद लामिछाने, नेल्टाका अध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवाली, वरिष्ठ कवि एवं समालोचक प्रा. डा. देवी नेपाल तथा वरिष्ठ पत्रकार एवं सञ्चारकर्मी टिकाराम यात्री लगायतले गरेका हुन् ।
संस्थापकको नेतृत्वमा युवावर्गद्वारा अघि सारिएको यस अभियान विचारको नयाँ अध्याय र दीर्घकालीन राष्ट्रिय शैक्षिक-सांस्कृतिक जागरणको शङ्खघोषका रूपमा उभिने बताइएको छ । नेपाल ऐतिहासिक रूपमै दर्शन, काव्य र संस्कारको केन्द्र रहँदै आए तापनि आधुनिक राज्य व्यवस्था, शिक्षाको औपचारिकीकरण र विश्वव्यापीकरणको तीव्र प्रभावका कारण यो मौलिक ज्ञान-परम्परा क्रमशः समाजको मूलधारबाट ओझेल पर्दै गएको महशुस गर्दै यस अभियानको परिकल्पना गरिएको हो ।
वर्तमान शैक्षिक अभ्यासमा शास्त्रीय ज्ञानलाई जीवनोपयोगी र संवादात्मक ढङ्गले प्रस्तुत गर्न नसक्दा यो केवल पाठ्यक्रम र परीक्षाको सीमित घेराभित्र मात्र खुम्चिएको देखिन्छ । सङ्गीत, साहित्य र संस्कारसँगको यसको जैविक सम्बन्ध कमजोर बन्दा ज्ञान जीवनबाट विच्छिन्न एक शुष्क बौद्धिक अभ्यासमा मात्र रूपान्तरित भएको छ, जसले गर्दा नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रति दूरी र अप्रासङ्गिकताको धारणा विकसित भइरहेको छ ।
यही गम्भीर सांस्कृतिक र बौद्धिक सङ्कटलाई चिर्न 'परिबोध' ले सङ्गीत, संस्कार र साहित्यको 'त्रि-स' मोडललाई आफ्नो मुख्य आधार बनाएको छ । यसले दर्शनलाई कठिन सिद्धान्तका रूपमा मात्र नभई अनुभूतिमूलक र व्यवहारिक जीवन पद्धतिका रूपमा बुझाउने लक्ष्य राखेको छ ।
शुभारम्भ कार्यक्रममा, "आफ्नै सभ्यतागत ज्ञानसँग असम्बद्ध बन्दै गएको वर्तमान समाज वैचारिक रूपमा सतही र परनिर्भर बन्ने जोखिम औँल्याउँदै 'परिबोध' जस्ता अभियानले मौलिक चिन्तनको पुनर्जागरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास सहभागीहरूले ब्यक्त गरेका छन् ।
सहभागीहरूले शास्त्रीय दर्शनलाई पुस्तकालयका थन्किएका पानाहरूबाट बाहिर निकालेर जनस्तरसम्म पुर्याउन ढिलो भइसकेको कुरामा जोड दिएका थिए ।
'परिबोध' ले आगामी दिनमा सङ्गीतको माधुर्य, संस्कारको अनुशासन र साहित्यको सिर्जनशीलतालाई एकीकृत गर्दै एउटा यस्तो अभियानको नेतृत्व गर्नेछ, जसले नेपाली समाजलाई आफ्नो दार्शनिक जरामा फर्कन र विश्वसामु सवल वैचारिक पहिचानका साथ उभिन प्रेरित गर्नेछ ।