काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनाबाट रिहा गर्न आदेश दिएको छ।
मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चका सूचना अधिकारी एवं उपरजिष्ट्रार निराजन पाण्डेका अनुसार अदालतले गैरकानुनी थुनामा राखिएको ठहर गर्दै रिहाइको आदेश दिएको हो।
यसअघि सोमबार न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाहीका लागि प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको थियो। प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा निर्वाचन आयोगले फागुन ४ गते पठाएको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको उल्लेख गरेका थिए। आयोगको फागुन ३ गतेको पत्रअनुसार अनुसन्धान तथा कारबाहीका लागि लेखी पठाइएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी थियो।
सर्वोच्चले भने आयोगले गरेको निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन आदेश दिँदै बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको हो। निर्वाचन आयोगको पत्रपछि परिसरको टोलीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो।