काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि पर्याप्त रकम संकलन भएको जानकारी दिएकी छन् ।
सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश लेख्दै साम्बाले पछिल्लो २४ घण्टामा प्राप्त माया, विश्वास र आर्थिक सहयोगप्रति आभार प्रकट गरेकी हुन् । उनले आफ्नो उपचारका लागि हालसम्म १ करोड ४५ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको र अब सहयोग रकम पठाउन बन्द गर्न अपिल समेत गरेकी छन् ।
साम्बाका अनुसार नेपाली बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ५२ हजार न्युजिल्यान्ड डलर (करिब ४५ लाख नेपाली रुपैयाँ) जम्मा भएको छ । घुँडाको चोटका कारण मैदान बाहिर रहेकी साम्बाले यो सहयोग नै आफ्नो खेल जीवनको वास्तविक कमाइ भएको बताएकी छन् ।
उनले आफू आवद्ध क्लब वेलिङ्टन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बिमा रकम निकासा गरी थप सहयोग गरिरहेको स्पष्ट पारेकी छन् । चाँडै शल्यक्रियाको मिति तय हुने र आफू अझ मजबुत भएर मैदान फर्कने उनले वाचा गरेकी छन्। सोमबार साम्बाले आफ्नो घुँडाको जटिल शल्यक्रियाका लागि आम समर्थकसँग आर्थिक सहयोगको अपिल गरेकी थिइन्।