काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सबै सीमा नाकाहरू अस्थायी रूपमा बन्द हुने भएका छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनाअनुसार फागुन १८ गते (सोमबार) राति १२ः०० बजेदेखि फागुन २१ गते (बिहीबार) राति १२ः०० बजेसम्म सीमा नाकाहरू बन्द रहनेछन्।
त्यस्तै, २०८२ फागुन २० गते (बुधबार) राति १२ः०० बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, पानी ट्याङ्कर, दमकल, अस्पताल सेवा, शव बहान , विद्युत सेवा र दूरसञ्चार सेवा जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने सूचनामा उल्लेख छ।
नम्बर प्लेटमा ‘सिडि’ लेखिएका कूटनीतिक नियोगका सवारी साधन र प्रशासनबाट विशेष अनुमति प्राप्त सवारी साधनलाई मात्र आवतजावतको अनुमति दिइने जनाइएको छ।
प्रशासकीय अधिकृत शिवराज जोशीले हस्ताक्षरित सूचनामार्फत सर्वसाधारणलाई सो अवधिमा आवतजावतको योजना बनाउन अनुरोध गरेका छन्।
