काठमाडौं । रौतहटकी २५ वर्षीया सृष्टि शाहले अस्ट्रेलियामा आफ्नै कानुनी परामर्श संस्था सञ्चालन गर्दै व्यावसायिक पहिचान बनाएकी छन्। पाँच महिनाअघि स्थापना गरिएको उनको कम्पनीमा उनी सोलिसिटरका रूपमा कानुनी सल्लाह दिने, कागजात तयारी गर्ने र आवश्यक परे अदालतमा बहससमेत गर्ने कार्य गर्दै आएकी छन्।
सोलिसिटर भनेको सेवाग्राहीसँग प्रत्यक्ष समन्वय गर्दै कानुनी सल्लाह दिने, मुद्दासम्बन्धी कागजात तयार गर्ने, सम्झौता तथा कानुनी प्रक्रिया व्यवस्थापन गर्ने वकिल हो। विकसित देशहरूमा सोलिसिटरले आवश्यक परे अदालतमा वकालतसमेत गर्न सक्छन्।
सृष्टिका अनुसार, उनको फर्मले मुख्यतः व्यक्तिगत क्षतिपूर्ति सम्बन्धी सेवा प्रदान गर्दै आएको छ। यसमा कामदार क्षतिपूर्ति दाबी, कार्यस्थलमा चोटपटक, चिकित्सकीय लापरबाही र सार्वजनिक दायित्वसम्बन्धी मुद्दा हेर्ने गरिन्छ। साथै, कानुनी कागजात तथा सम्झौता तयारी–समीक्षा, सम्पत्ति खरिद–बिक्री तथा हस्तान्तरण, आप्रवासन र भिसासम्बन्धी परामर्श सेवा पनि दिइँदै आएको छ।
सृष्टि चार वर्षको उमेरमा परिवारसँग अस्ट्रेलिया पुगेकी थिइन्। उनले सिड्नीमा कक्षा १२ सम्म सरकारी विद्यालयमा अध्ययन गरेपछि कानुन विषयमा चार वर्षे स्नातक पूरा गरिन्। अध्ययनसँगै उनले लाइसेन्सिङ कोर्स पूरा गरी सोलिसिटरको अनुमति प्राप्त गरिन्। अस्ट्रेलियामा कानुन पढिसकेपछि सिधै वकालत गर्न नपाइने भएकाले सरकारी मान्यता प्राप्त संस्थाबाट लाइसेन्सिङ अनिवार्य हुन्छ।
इन्टर्नसिप र विभिन्न फर्ममा काम गर्दै उनले परिवारिक विवाद, घरभाडा, अपराध तथा आप्रवासनसम्बन्धी मुद्दामा अनुभव सँगालिन्। क्रमशः व्यक्तिगत क्षतिपूर्ति र सार्वजनिक दायित्वका जटिल मामिला हेर्दै अनुभव बढेपछि उनले आफ्नै फर्म खोल्ने निर्णय गरिन्। हाल ‘ब्राइटेन ल’ फर्ममा एक सहयोगीसहित सेवा दिँदै सृष्टिका ग्राहकहरूमा नेपाली समुदायसँगै अन्य विदेशी सेवाग्राही पनि छन्।
सृष्टि बताउँछिन् कि कानुनी पेशामा निश्चित समयसीमा नहुने र गहिरो अनुसन्धान तथा धैर्य आवश्यक पर्छ। “कानुनी क्षेत्रमा काम गर्नु चुनौतीपूर्ण छ, तर सेवाग्राहीलाई न्याय दिलाउन सक्नु नै सबैभन्दा ठूलो सन्तुष्टि हो,” उनले भनिन्।