काठमाडौं । धादिङमा भएको बस दुर्घटनाको छानबिनका लागि समिति गठन गर्ने निर्णय भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालय मा बसेको बैठकले घटनाको विस्तृत छानबिन गर्ने निर्णय गरेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।
दुर्घटनापछि गृहमन्त्री ओमप्रकाशको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि, तीन वटै सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायबीच छलफल भएको थियो । उक्त छलफलले दुर्घटनाका कारण, जिम्मेवारी र भविष्यमा यस्ता घटना रोक्ने उपायबारे अध्ययन गर्न छानबिन समिति बनाउने निर्णय गरेको हो ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा क्षेत्रबाट त्रिशूली नदी किनारतर्फ खसेको थियो ।
दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकमध्ये १८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार घाइतेमध्ये १० जनालाई कलंकीस्थित नेशनल अस्पताल र १५ जनालाई ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ । ट्रमा सेन्टरमा उपचाररत एक युवकको मृत्यु भएको छ भने अन्य १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप विवरण संकलन भइरहेको र छानबिन समितिले छिट्टै काम सुरु गर्ने गृह मन्त्रालयले जनाएको छ ।