वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–श्रीपुर क्षेत्रमा पार्किङ विषयलाई लिएर उत्पन्न विवाद शान्तिपूर्ण रूपमा समाधान भएको छ।
स्थानीयस्तरमा भएको सामान्य भनाभनले केहीबेर तनावको अवस्था सिर्जना गरे पनि प्रहरीको सक्रिय पहलपछि स्थिति नियन्त्रणमा आएको हो।
प्रत्यक्षदर्शीका अनुसार सवारी पार्किङलाई लिएर दुई पक्षबीच सुरु भएको व्यक्तिगत विवाद विस्तारै समूहगत बहसमा रूपान्तरण भएको थियो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक रूपमा व्यक्तिगत विषयमै भएको विवादलाई समुदायगत रूपमा व्याख्या गर्नु उपयुक्त नहुने पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले स्पष्ट पारे ।
प्रहरीले दुवै पक्षलाई सम्झाइ–बुझाइ गरी अवस्था सामान्य बनाएको जनाएको छ। हाल उक्त क्षेत्रमा सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य रहेको र थप निगरानीसमेत जारी राखिएको प्रहरीले जानकारी दिएको छ।