काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरूले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् ।
गोरखपत्र संस्थानले आइतबार आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गरे ।
उनले तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आह्वान गरे । सञ्चारकर्मीले निष्ठापूर्वक भूमिका निर्वाह गरिरहेकाले निर्वाचन हुने वातावरण बनेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।
‘सुशासनका लागि पनि निर्वाचन हुनुपर्छ, निर्वाचनले पाँच वर्षसम्म सुशासन कायम गर्ने अख्तियारी दिनेछ । निर्वाचन आचारसंहिता लागू भइरहेको छ, आचारसंहिता उल्लङ्घन भयो, भनी धेरै उजुरी आएका छन्, त्यसमा छानबिन गरेर निर्णयमा पुग्छौँ । सूचना सम्प्रेषण पनि आचारसंहिताभित्र बसेर गर्नुपर्छ, आचारसंहिता अनुसार मत सर्वेक्षण गर्न पाइँदैन, मत सर्वेक्षणका नाममा निर्वाचनअघि यसले जित्छ र उसले हार्छ भनेर लेख्दा जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था आउने देखिएकाले यसो गर्नुहुँदैन’, उनले भने ।
फागुन २१ गते हुन लागेको निर्वाचन शताब्दीकै पेचिलो भए पनि यसलाई आयोगले सहज रूपमा सम्पन्न गर्न लागेको उनले जानकारी दिए । चलायमान अवस्थाबाट भाँडिएको देशलाई पुनः चलायमान बनाउन पनि निर्वाचन आवश्यक रहेकामा उनले जोड दिए ।