काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहारा क्लबले १२ वर्षपछि उपाधि जितेको हो ।
सहाराको जितमा मुकुन्द निउरे र ताय दिनियलले एक–एक गोल गरे । २५औँ मिनेटमा निउरेले गोल गर्दै अग्रता दिलाएका थिए । ७३औँ मिनेटमा दिनियलले गोल गर्दै अग्रता दोब्बर पारे ।
सहाराले पछिल्लोपटक विसं २०७० सालमा उपाधि जितेको थियो । उपाधिसँगै विजेता सहाराले १४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता जावलाखेलले सात लाख एक हजार रुपैयाँमा चित्त बुझायो । माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका थिए ।