काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ४१ वटा राजनीतिक दलले आफ्नो घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन्।
निर्वाचन आयोगले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। आयोगकी सहायक प्रवक्ता सीता पुनका अनुसार तोकिएको समयसीमा अगावै घोषणापत्र बुझाउन आग्रह गरिएको भए पनि केही दलले अझै बुझाउने क्रम जारी राखेका छन्।
उम्मेदवारको हकमा भने जिल्ला निर्वाचन कार्यालयमार्फत विवरण बुझाउन सकिने भएकाले पूर्ण तथ्यांक आउन बाँकी रहेको उनले बताइन्। प्रवक्ता पुनले प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रका मतपत्र छपाइ तथा प्याकिङ कार्य सम्पन्न भएको जानकारी दिइन्।
समानुपातिकतर्फका मतपत्र सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी गरिसकिएको छ। आयोगका स्वयंसेवकहरूले नमूना मतपत्र प्रयोग गरी मतदातालाई मतदान शिक्षा प्रदान गरिरहेका छन्।
निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारले बैंक खाता खोल्नुपर्ने प्रावधान अनुसार हालसम्म सात राजनीतिक दल र ८ हजार ८ सय ६७ उम्मेदवारले निर्वाचन बैंक खाता खोलेको विवरण प्राप्त भएको आयोगले जनाएको छ।
सार्वजनिक बिदा धेरै परेकाले आगामी आइतबार र सोमबार बैंक खाता खोल्ने उम्मेदवारको संख्या बढ्न सक्ने आयोगको अनुमान छ। निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार तयारीका काम तीव्र गतिमा अघि बढिरहेको जनाएको छ।