काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण घटिरहेको छ । शुक्रबार (फागुन ८) दिउँसो वायु प्रदूषण घटेर वायु गुणस्तर सूचकांक (एक्यूआई) ९९ पुगेको छ ।
गएको मंगलबार उपत्यकाको एक्यूआई १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो । हावा चल्ने दर बढेसँगै वायु प्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ ।
एक्यूआईका अनुसार, मंगलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा शुक्रबार १८औँ स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर ३७३ एक्यूआईसहित पहिलो र भारतको कोलकात्ता १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सुक्खा मौसममा वायु प्रदूषण बढ्ने र वर्षा हुँदा तथा हावा चल्दा वायु प्रदूषण घट्ने जानकारी दिए ।
एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ (हरियो संकेत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेँलो संकेत), १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्नसक्ने जानकारहरू बताउँछन्। १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिने वातावरणविद् तुलाधरले बताए ।