काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले बागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।
मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भूभाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।