काठमाडौँ । सन् २०२५ मा नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार ललितपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२५ मा नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
इन्सेकका अनुसार सन् २०२५ मा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाबाट ११ हजार ५ सय ३८ जना पीडित भएका छन्। अघिल्लो वर्ष सन् २०२४ मा भने यस्ता घटनामा १० हजार ७ सय ३४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो।
इन्सेकको तथ्याङ्क अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन्।
राज्यपक्षबाट पीडित सङ्ख्या बढ्यो
सन् २०२५ मा राज्यपक्षबाट २ हजार ७ सय ५ जना पीडित भएको इन्सेकले जनाएको छ। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको हो। सन् २०२४ मा राज्यपक्षबाट ४ सय ५८ जना पीडित भएको तथ्याङ्क थियो। त्यस्तै, अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनाबाट ८ हजार ८ सय ३३ जना पीडित भएको उल्लेख गरिएको छ।
२ सय ६८ जनाको हत्या भएको दाबी
इन्सेकले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ (३३ औँ अङ्क मा सन् २०२५ मा राज्यपक्ष र अन्य पक्षबाट गरी २ सय ६८ जनाको हत्या भएको उल्लेख छ। मृतकमध्ये ५५ महिला, २०० पुरुष, १२ जना पहिचान नखुलेका, तथा १ जनाको विवरण अस्पष्ट रहेको इन्सेकले जनाएको छ।
परिवारबाट हत्या र दाइजोसम्बन्धी घटना
इन्सेकका अनुसार परिवारबाट हत्या गरिएका नागरिकको सङ्ख्या पनि धेरै रहेको छ। सन् २०२५ मा १०३ जनाको हत्या परिवारबाट भएको उल्लेख गरिएको छ। जिल्लागत रूपमा रौतहटमा सबैभन्दा बढी ६ जनाको हत्या भएको इन्सेकले जनाएको छ।
त्यस्तै, दाइजोका कारण महिलामाथि भएका घटनामा १४४ वटा मानव अधिकार उल्लङ्घनसम्बन्धी घटना दर्ता भएको उल्लेख छ। यसमध्ये धनुषामा सबैभन्दा बढी १२९ घटना दर्ता भएको र दार्चुला तथा सिरहामा १/१ घटना भएको इन्सेकको तथ्याङ्क रहेको छ ।