काठमाडौं । अमेरिकाको फेयर फ्याक्स विश्वविद्यालयले डा. राजन थपलियालाई कम्प्युटर विज्ञान, साइबर सुरक्षा तथा सूचना प्रविधि संकायको सहायक डिन पदमा नियुक्त गरेको छ।
उनले फेब्रुअरी १५ देखि आफ्नो जिम्मेवारी सम्हालेका हुन्। विश्वविद्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।
विश्वविद्यालयका अनुसार डा. थपलिया प्रतिष्ठित शैक्षिक नेतृत्वकर्ता, पुरस्कारप्राप्त प्राध्यापक तथा कृत्रिम बुद्धिमत्ता, तथ्यांक विज्ञान र कम्प्युटर विज्ञान क्षेत्रमा अग्रणी व्यक्तित्वका रूपमा परिचित छन्।
उनलाई ‘इन्फ्लुएन्सर हिरो’ संस्थाले अमेरिकाका शीर्ष २० मेशिन शिक्षण प्रभावशाली व्यक्तित्वमध्ये एकका रूपमा सम्मान गरेको थियो। प्राध्यापकका रूपमा उनले अमेरिकाका विभिन्न विश्वविद्यालयहरूमा स्नातकोत्तर तथा विद्यावारिधि तहमा तथ्यांक विज्ञान, कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर इन्जिनियरिङ तथा सूचना प्रविधि विषय अध्यापन गरेका छन्।
डा. थपलियाले क्यालिफोर्नियास्थित नेशनल युनिभर्सिटीबाट तथ्यांक विज्ञानमा स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेका छन्। उनले व्यवसाय प्रशासन तथा जनस्वास्थ्य विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्।
यता थपलियाले आफ्नो शैक्षिक यात्राको यो सबैभन्दा ठूलो कोसेढुङ्गा भएको बताएका छन् ।