काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित बाके–संग्रामपुर सडकखण्ड नजिक बुधबार साँझ तीन वटा मोटरसाइकल ठोक्किँदा दुःखद घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकलहरू बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ थिए। खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते चार जनालाई एम्बुलेन्समार्फत लालबन्दीस्थित मोडेल अस्पताल पठाइएको थियो। तीमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल मलंगवा पठाइएका थिए। गम्भीर घाइतेमध्ये हरिपुर्वा नगरपालिका–९ निवासी मुकेश राय र रामज्ञान राय राति मलंगवा अस्पतालमा मृत्यु भएका हुन्। सामान्य घाइतेमा विक्रम राय र राम विश्वास राय रहेका छन्। उनीहरू मोडेल अस्पतालमा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएका छन्। तीनवटै मोटरसाइकल अहिले प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा छन्। दुर्घटनाका चालकको पहिचान र कारण खुल्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।