काठमाडौँ । ‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई नेपाल सरकारले विना सर्त र स–सम्मान रिहा गर्नुपर्ने माग गर्दै उनको सचिवालयले अनिश्चितकालीन नेपाल बन्द घोषणा गरेको छ।
सचिवालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार फाल्गुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द गर्ने घोषणा गरेको हो। विज्ञप्तिमा संयोजक प्रसाईंलाई स–सम्मान रिहा नगरेसम्म चरणबद्ध आन्दोलनमा जाने उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि धावा बोल्दै सरकारले देखाएको यो दमनकारी कदम पूर्णतः अलोकतान्त्रिक र अन्यायपूर्ण छ।”
सचिवालयले प्रसाईंलाई विना कुनै ठोस आधार हिरासतमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, सरकारले अभियान र प्रसाईंले उठाएका जनताका जायज मागहरू सम्बोधन गर्नुको साटो राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ।
