काठमाडौँ । कैलालीमा गत शनिबार जंगलभित्र अनुहार जलेको अवस्थामा फेला परेको युवतीको पहिचान नखुल्दा अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–१ स्थित तल्लोपानीको नवप्रगतशील सामुदायिक जङ्गलमा शनिबार दिउँसो अन्दाजी २७ वर्षीया युवतीको शव फेला परेका थियो ।
अनुहार जलाइएको अवस्थामा शव भेटिएकाले पहिचान गर्न समस्या भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थी जानकारी दिएका छन् । उनका अनुसार घटनास्थलमा मृतकका सामग्री मात्र भेटिएको र अन्य कुनै शङ्कास्पद वस्तु फेला नपरेकाले अनुसन्धानमा तत्काल प्रगति हुन नसकेको बताए ।
उनले भने, “महिलाको पहिचान नखुलेका कारण थप अनुसन्धानमा समस्या भइरहेको छ। विभिन्न तरिकाबाट अनुसन्धान गरिरहेका छौँ।”
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट डीएसपी अवस्थी नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित घटनास्थलमा खटिएको छ। जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको बताए।