काठमाडौँ । युक्रेनका पूर्व ऊर्जामन्त्री जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दा सीमा क्षेत्रबाट पक्राउ परेका छन्। भ्रष्टाचारको आरोप लागेका उनलाई रेलमार्फत युक्रेनबाट बाहिरिन खोज्दै गर्दा सुरक्षा निकायले नियन्त्रणमा लिएको अधिकारीहरूले पुष्टि गरेका छन्।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको सरकारमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका गालुश्चेन्कोमाथि १० करोड डलर (करिब १३ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) हिनामिना गरेको गम्भीर आरोप छ। युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरोका अनुसार उनलाई 'अपरेसन मिडास' नामक विशेष छानबिन अन्तर्गत नियन्त्रणमा लिइएको हो।
गत नोभेम्बरमा भ्रष्टाचार काण्डमा नाम मुछिएपछि उनलाई मन्त्री पदबाट हटाइएको थियो। सीमा सुरक्षा गार्डहरूलाई उनी देश बाहिर जान खोजेमा तत्काल खबर गर्न निर्देशन दिइएको थियो, जसअनुसार उनलाई सीमा पार गर्न लाग्दा समातिएको हो।