काठमाडौं । पशुपतिनाथको मुख्य पर्व महाशिवरात्रिका लागि पाशुपत क्षेत्र यतिबेला दुलहीझैँ सिँगारिएको छ ।
आइतबार परेको शिवरात्रिको स्वागतका लागि मन्दिर परिसरमा रङरोगन, सरसफाइ र बिजुली बत्तीको सजावटसँगै सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पर्वलाई लक्षित गरी छिमेकी मुलुक भारतसहित देशका विभिन्न स्थानबाट साधु–सन्त र नागा बाबाको बाक्लो आगमन भइसकेको छ । भक्तजनको चापलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने दर्शनार्थीको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष यातायात व्यवस्थापन योजना सार्वजनिक गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार दर्शनार्थीको चाप नबढुन्जेलसम्म चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन निर्वाध रूपमा सञ्चालन हुनेछन् । तर, गौशाला क्षेत्रमा मानिसको भीड अत्याधिक भई सवारी आवागमनमा अवरोध हुने अवस्था आएमा वैकल्पिक मार्गको प्रयोग गरिनेछ ।
विशेषगरी तिनकुनेबाट सिनामङ्गलतर्फ आउने, बौद्धबाट गौरीघाटतर्फ आउने तथा पुरानो बानेश्वर र मित्रपार्कबाट गौशालातर्फ आउने मालबाहक सवारी साधनलाई आवश्यकता अनुसार रोक लगाइने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै, भिडको अवस्था हेरी चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर र मैतिदेवी मोडबाट गौशालातर्फ आउने सवारीलाई वैकल्पिक रुटमा मोडिने ९डाइभर्सन गरिने० योजना छ ।
-1771045878.png)