काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
उनले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँगको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएको राष्ट्रपति पौडेल प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।